प्रहरीको हात भाँचिदिएको आरोपमा एक जना अटो मोबाइल व्यवसायी पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३६७ दिन अगाडि
प्रहरीको हात भाँचिदिएको आरोपमा एक जना अटो मोबाइल व्यवसायी पक्राउ

पोखरा - पोखरामा प्रहरीको हात भाँचिदिएको आरोपमा एक जना अटो मोबाइल व्यवसायी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनित सदस्य तथा अटो व्यवसायी सौरभ थापा छन् । उनी अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाका छोरा हुन् । पक्राउ परेका २५ वर्षीय सौरभले बुबाको लगानीमा रहेका अटो मोबाइल व्यवसाय हेरिरहेका छन् ।

गत बिहीबार पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि राती ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका प्रहरीको हात भाँचिएको प्रहरीको भनाइ छ । रक्सीले मातेर गाडी चलाएका थापालाई रामबजारमा प्रहरीले रोकेपछि उनले स्टन्ड देखाउँदै अगाडि भागेको र फेरि फर्किएर आएर प्रहरीलाई हानेको स्रोतको दाबी छ ।

‘उनले प्रहरीलाई गाडीको ढोकाले हुत्याए, उनले मादक पदार्थ सेवन गरेका थिए’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘गाडीको ढोकाले लागेर प्रहरी हवल्दार चित्रबहादुर वलीको हातै भाँचिएको छ ।’ उनलाई बिहीबार पक्राउ गरी दुर्व्यवहार मुद्धामा ५ दिनको म्याद थप गरिएको छ । मुद्धाको फाइल सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ ।

‘थापालाई प्रक्राउ गरी अभद्र मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ५ म्याद थप गरी अनुसन्धान भइरहेको छ । सरकारी वकिलको कार्यालयमा आजै फाइल पेश गरेका छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले भने । गत पुस २१ गते पनि मदिरा सेवन गरी गाडी चलाएका सौरभले पोखरा लेकसाइडमा अर्को गाडीलाई ठक्कर दिएका थिए । तर, थापा भोलिपल्टै पक्राउ परेर पनि छुटेका थिए ।

‘थापाले बाटोमै केहीबेर स्टन्ड नै देखाएका थिए । प्रहरीले पक्राउ गरेर चेतावनी दिँदै थापालाई परिवारको जिम्मा लगाइएको थियो,’ एक प्रहरीले भने, ‘उनीहरुले यसअघि पनि विभिन्न ठाउँमा स्टन्ड देखाउने गरेका थिए ।’