नेप्सेमा ४१ अंकले घट्यो, ३ अर्ब ३० करोडको कारोबार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७४ दिन अगाडि
नेप्सेमा ४१ अंकले घट्यो, ३ अर्ब ३० करोडको कारोबार

काठमाडौं - नेप्सेको तीव्र गिरावटको यात्रा पुनः सुरु भएको छ ।

३२ सयको उच्च विन्दुमा पुगेर १८ सयमा झरेर पुनः उकालो लाग्दै गरेको नेप्से सूचक केही दिनयता फेरि घट्न थालेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से सूचक ४१.०१ अंकको गिरावट आउँदै २१२७.५२ अंकमा ओर्लिएको छ । अघिल्लो दिन १४ अंकले घटेको नेप्से सूचक २१६८ अंकमा अडिएको थियो । 

यद्यपि, नेप्सेमा तीव्र गिरावट आएपनि अघिल्लो दिनको तुलनामा आज कारोबार भने केही बढेको छ । अघिल्लो दिन आइतबार ३ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा आज सोमबार ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर कारोबार भएको छ । 

आज १३ वटै नेप्सेका उपसूचकहरु ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.६१ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको ३.४२ प्रतिशतले अन्य समूहहरुको उपसूचक क्रमशः १ देखि २.८९ प्रतिशतसम्मले घटेका छन् । 

यद्यपि, आज दुईवटा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी ली. र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।