काठमाडौं – २०४० सालमा मैले नृत्यका स्टेप्सहरू सिकेकी थिएँ। २०४८ सालमा मैले ‘अग्निपथ’ नामक सिरियलमा काम गरेँ, जसलाई माधव सापकोटाले निर्देशन गर्नुभएको थियो। डान्समात्र गरिरहेकी मलाई सिरियलमा अभिनय गर्न पाउनु अवसर थियो। सँगै सिरियलमार्फत सबैको घर–घरमा देखिन पाउने भएँ भनेर उत्साह र उमंगपनि थियो।
त्यो बेला अवसर पाउनु नै पनि गाह्रो थियो। तर, अहिलेको समय त्यस्तो रहेन। त्यही सिरियल गर्ने क्रममा मदनदास श्रेष्ठसँग भेट भयो। ऊ बेला उहाँ रेडियोकर्मी तथा रेडियो नाटकको क्षेत्रमा वरिष्ठ व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो।
मलाई यही कला र अभिनय क्षेत्रमा नै रुचि थियो। अन्यथा, रुचि नै नहुने हो भने आयो–गयोमै सिमित हुनुपर्ने थियो। तर, मलाई त्यहीँ रुचि थियो, जसले मदनदास सरसँग ‘म काठमाडौं आएँ भने केही काममा अल्झाइदिन सक्नुहुन्छ?’ भनेर प्रश्न राखे।
उहाँले सहजै आफ्नो घरको फोन नम्वर दिनुभयो। मेरो प्रस्तावलाई उहाँले सहजै लिएपनि म आफूमा भने शंका कायम थियो। उहाँले केही अवसर दिनु होला कि नहोला !
विराटनगरकी मान्छे म काठमाडौं गएर के गरी खाउँला आत्मविश्वास धेरै थिएन । तर, अन्तमा जे सुकै होला भनेर काठमाडौं आएँ । काठमाडौंको अनामनगरमा दिदी भिनाजुको घर थियो बस्न समस्या थिएन।
उहाँहरूमात्र घरमा भए फरक पर्दैन थियो होला तर, सासू–ससुरासहित बस्न त गाह्रो हुँदो रहेछ। वातावरण अनुकुल नलागेपनि बस्नै पर्यो ।
विराटनगरबाट आउनसाथ मदनदास सरलाई फोन गरेँ। बस्ने ठाउँ त जसोतसो छ, तर, साथमा पैसा छैन। कमाउनुप¥यो। मदनसरले फोनमै भन्नु भयो ल रेडियो नेपाल आउँ।
मनमा डर थियो, पास चाहिने हो कि! अथाव केही औपचारिक प्रक्रिया छन् कि! तर त्यो समय सिंहदरबारको मुख्य ढोकाबाट रेडियो नेपाल जान सहजै थियो।
जसरी सहजै सिंहदरबार हुँदै रेडियो नेपाल गएँ तर, त्यहाँको अवस्था सोचे जस्तो सहज थिएन। त्यहाँ त यति धेरै मान्छे हुनुहुन्थ्यो कि, भित्र स्टुडियोबाट बाहिरको गेटसम्म लाइन थियो। उहाँहरू सबै रेडियो नेपालमा नाटक गर्न आउने, स्वर परीक्षणमा आउने।
लाग्यो, ला! यो भिडमा मदनसरले मलाई काम दिनुहुन्न होला। तथापि उहाँलाई भेटेरै निस्कने भनेर पुगे। मदन सरले देख्नसाथ ए! तिमी आइहाल्यौं? प्रश्न गर्नुभयो। मैले पनि अँ, आए नि, मलाई गाह्रो छ आएँ भनेँ।
रेडियो नाटक ‘द गेष्ट’ नामको रेडियो नाटक थियो। उहाँले भन्नुभयो, ‘यति धेरै अग्रज कलाकार हुनुहुन्छ, म सानो भूमिका दिन्छु।’ मैले हतारहतार सोधिहाले पैसा चाँहि कति आउँछ? कारण मलाई पैसाको ठूलो आवश्यकता थियो। सोध्नु मेरो बाध्यता थियो।
‘यसै भन्न त सक्दिन तर, तिमी टेलीसिरियलबाट आएको भएकाले ‘क’ श्रेणीमा राख्ने कोसिस गर्छु।’ मैले फेरि उसैगरी सोधेँ, त्यसमा चाँहि पैसा कति आउँछ। उहाँले भन्नुभयो, ‘तीनसय जति आँउछ।’
त्यो बेला दिपकराज गिरी, जितु नेपाल चाँहि ‘ख’ श्रेणीमा हुनुहुन्थ्यो। मलाईं खसखस भइरह्यो। कारण, सुरुमै ‘क’ श्रेणीमा राख्न मिल्दैन होला कि, भन्ने थियो। केही समयपछि उहाँले मलाईं ‘क’ श्रेणीमा परेको सुनाउँदै भन्नुभयो, ‘तिमीले तीनसय पारिश्रमिक पाउने भयौं तर, एक महिनापछि मात्र पाउँछौं है।’
ला! एक महिनापछि? अर्काको घरमा बसिरहेको छु, के गर्नेहोला जस्तो भयो। तथापि काठमाडौं आएर कामाएका पहिलो कमाई मदनदास सरले जुराई दिनुभएको थियो। त्यही एक महिनाको दौडानमा रेडियो नेपालमै अग्रज कलाकार स्व. वासुदेव मुनाल सरसँग भेट भयो। मैले उहाँसँग उसैगरी विन्ती बिसाएँ। किनकी मलाई काठमाडौंमा बाँच्नुपर्ने थियो।
पहिलो नाटकमा काम गर्न पाएपछि अर्कोपनि पाइहाल्छु होला भन्ने आत्मविश्वास ममा बढेको थियो। त्यही कारण सर म पनि बाल कलाकार बन्छु नि भनेर आग्रह गरेँ। उहाँबाट पनि रेडियो नाटकमा बाल–कलाकारको अवसर प्राप्त गरेकी थिएँ। त्यहाँ पनि कति पैसा पाउँछु भनेर प्रश्न गर्न भने छोडिन।
त्यहाँ २ सय पारिश्रमिक पाइने रहेछ। दुई वटा नाटकबाट एक महिनामा ५ सय रुपैयाँ पाउने भएपछि त मलाई लाग्यो काठमाडौं नै किन्नसक्छु।
‘फिल्म, मिडिया, एनिमेसन तथा कर्पोरेट क्षेत्रमा रोजगारी अवसरको खोजी।’ कार्यक्रममा कलाकार निरौलाले राख्नु भएको प्रस्तुतिबाट...