नेपालले पिउने पानी निर्यात गर्नुपर्ने खानेपानी मन्त्री खाँको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३९४ दिन अगाडि
नेपालले पिउने पानी निर्यात गर्नुपर्ने खानेपानी मन्त्री खाँको भनाइ

नवलपरासी - खानेपानी मन्त्री अब्दुल खाँले नेपालले पिउने पानी निर्यात गर्नुपर्ने बताएका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निरीक्षणका क्रममा उक्त कुरा बताएका हुन् । उनले पेट्रोलियम पदार्थ जसरी आयात हुन्छ त्यसैगरी जलश्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपालले पानी निर्यात गरी देशको आर्थिक अवस्था सुधार गर्नुपर्ने धारणा राखेका थिए । 

एक घर एक धाराको अवधारणा अवलम्बन गरेको बर्दघाट खानेपानीको उद्देश्यको सराहना गर्दै मन्त्री खाँले शुद्ध पिउनेपानीबाट कोही पनि वञ्चित हुननहुने बताउँदै क्रमशः शुद्ध पिउने पानीको पहुँच देशका सबै जनतामा पु¥याउनुपर्ने बताए ।

निरीक्षणका क्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवलका प्रमुख सिडिइ विनोद कुमार भुजेलले बर्दघाट खानेपानीले अहिले २४ सै घण्टा पिउने पानी उपलब्ध गराएको र भविष्यमा समेत निरन्तरता दिनको लागि नयाँ आयोजना सम्पन्नताको अन्तिम चरणमा पुगेको बताउँदै आगामी केही वर्ष आयोजना क्षेत्रमा पिउने पानीको समस्या नहुने बताए । उनले पानी वितरण सँगसँगै शुद्धता र सरसफाइमा ध्यान दिनुपर्ने बताएका थिए ।

बर्दघाट खानेपानी संस्थाका अध्यक्ष धातानन्द बस्यालले संस्थाको बारेमा जानकारी गराएका थिए । बस्यालले बर्दघाट खानेपानीले पिउने पानी वितरण सँगै सरसफाइ क्षेत्रमा पनि काम गरेको जानकारी दिएका छन् ।