नेपालमा पर्यटकीय अफसिजन मानिने जनवरीमै पर्यटक आगमन उत्साहजनक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८५ दिन अगाडि
नेपालमा पर्यटकीय  अफसिजन मानिने जनवरीमै पर्यटक आगमन उत्साहजनक

 काठमाडाै‌ -नेपालमा पर्यटकीय गतिविधिका लागि अफसिजन मानिने जनवरीमै पर्यटक आगमन उत्साहजनक देखिएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका छन् । हिउँदयाममा नेपालमा पर्यटक सिजन मानिँदैन । अर्कोतर्फ चिनियाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएको छैन । यस अवस्थामा देखिएको यो आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । यस महिनामा अष्ट्रेलियाबाट राम्रो संख्यामा पर्यटक आएको देखिएको छ ।

सबैभन्दा धेरै पर्यटक भने भारतीय छन् । यो हवाईमार्ग प्रयोग गरी आएका पर्यटकको संख्या हो । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएयता जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए । सन् २०२१ मा मात्र ८ हजार ६७४ जना पर्यटक यस महिनामा आएका थिए । सन् २०२० को जनवरीमा भने ७९ हजार ७०२ र सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक आएका थिए । यी दुई वर्ष कोरोना महामारीको संकट सुरु भइसकेको थिएन् । सन् २०२० को मार्चपछि भने मुलुकले लकडाउनको सामना गर्नु परेको थियो ।

जनवरीमा कुन वर्ष कति पर्यटक ?

  • सन् २०१९ : ८१,२७३
  • सन् २०२० : ७९,७०२
  • सन् २०२१ : ८,८७४
  • सन् २०२२ : १६,४३६
  • सन् २०२३ : ५५,०७४

तथ्यांक अनुसार जनवरी २०२३ मा भारतबाट मात्र १६ हजार ४३६ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ६ हजार ५६१ जना नेपाल आएको तथ्यांक छ । अष्ट्रेलियाबाट ३ हजार ४४१ र बंगलादेशबाट २ हजार ४६८ जना पर्यटक नेपाल आएका छन् ।

कुन मुलुकबाट कति भित्रिए ?

  • भारत : १६,४३६
  • अमेरिका : ६,५६१
  • अष्ट्रेलिया ; ३,४४१
  • बंगलादेश : २,४६८