काठमाडौं - कानुन न्याय तथा संसदीय मामिला मन्त्री धुवबहादुर प्रधानले विद्यालय स्तरमा खेलकुद क्षेत्रको ठूलो भूमिका रहने बताएका छन् ।
बिहीबार काठमाडौंको अक्सिडेन्टल पब्लिक स्कुलले आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रममा बोल्दै मन्त्री प्रधानले यस्तो बताएका हुन् ।
दशरथ रंगशालामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रधानले खेलकुदले विद्यालयको स्तर वृद्धि गर्नका साथै खेलकुदसँगसँगै सांस्कृतिक, ऐतिहासिक पाटो पनि जोडिएर आउने उल्लेख गरे । उनले खेलाडीले खेल कौशल प्रस्तुत गर्दा अरुको प्रभाव र दवावमा नभई आफ्नै प्रस्तुती दिन सके त्यसले खेलाडी स्वयंम र राष्ट्रलाई पनि फाइदा पुग्ने बताए ।
विद्यालयले यसरी खेल कार्यक्रमको आयोजना गर्दा मूलुकको सिंगो खेल क्षेत्रको विकासमा योगदान पुग्नका साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमासमेत सहयोग पुग्ने भन्दै मन्त्री प्रधानले खुसी ब्यक्त गरे । उनले विना भय र त्रासमा विद्यार्थीले चाहेको कुरा विद्यालयले दिनपर्नेमा पनि जोड दिए ।
विद्यालयका शिक्षक तुलसीपंसाद घिमिरेका अनुसार खेलकुद कार्यक्रममा नेपाल कराँते महासंघका महासचिव ओमकृष्ण प्रसाईं, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक टेकबहादुर पौड्यालले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सभापतित्व विद्यालयका निर्देशक डी.वी निरौलाले गरेका थिए ।