काठमाडौं -नेकपा -एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म मात्रै थेग्ने दाबी गरेका छन् ।
सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको दाबी गर्दै उनले राष्ट्रपति निर्वाचनअघि नै गठबन्धन टुट्ने अवस्था रहेको बताए । ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौं-खटपट सुरु भइसकेको छ,’ उनले भने । ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने भनी प्रश्नसमेत गरे ।संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गरे । उनले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको बताए । अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।