नेपालको पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८१ दिन अगाडि
नेपालको पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

काठमाडौँ  - नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराका ज्वाईं तथा कांग्रेसका नेता सुनीलबहादुर थापाका अनुसार  आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ । 

थापाले भने,  'अहिले हामी अस्पतालमै छौं । आधा घण्टापछि थापाथलीस्थिति घरमा लिएर राख्छौँ । घर परिवार आएपछि आज ११ बजेतिर अन्त्येष्टि गर्ने तयारी छ ।'

उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए । उनको केही साताअघिदेखि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार जारी राखिएको थियो । जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए । ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छन् । 

जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् । जबराका दुई छोरा र दुई छोरी छन् ।