प्रधानमन्त्री प्रचण्डको काँधमा पाँचवटा मन्त्रालयको जिम्मेवारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७१ दिन अगाडि
प्रधानमन्त्री प्रचण्डको काँधमा पाँचवटा मन्त्रालयको जिम्मेवारी

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा पाँचवटा मन्त्रालयको जिम्मेवारी आएको छ । 

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेको थप दुई मन्त्रालयको कामकाज प्रचण्डले नै गर्नेगरी जिम्मेवारी तोकेसँगै उनको काँधमा पाँच वटा मन्त्रालय परेको हो । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले राजीनामा दिएका थिए । 

शिक्षामन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पदबाट राजीनामा दिएका थिए । यस्तै स्वास्थ्य राज्यमन्त्री तोसिमका कार्कीले पनि पदबाट राजीनामा दिएकी थिइन् ।  दुईमन्त्रीको राजीनामासँगै रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रचण्डलाई नै तोकेकी हुन् । 

यसअघि रास्वपाकै रवि लामिछानेको गृहमन्त्री पद गएपछि सो मन्त्रालय पनि प्रचण्डले नै सम्हाल्दै आएका छन् भने मन्त्रिपरिषद् विस्तार हुन बाँकी वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय पनि प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।