काठमाडौं - अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावर आज स्वदेश फर्किंदै छिन् ।
दुई दिने नेपाल भ्रमणमा रहेकी उनी आज उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लागेकी हुन् । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारीसमेत हुन् ।उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा. विमला राई पौड्याललाई भेटेर अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी छन् ।
मंगलबार पावरले र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट गरेकी थिइन् । भेटका अवसरमा नेपाल अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा एमसीसी कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) बाट विकसित मुलुकका रुपमा स्तरोन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायत विषयमा छलफल भएको हो । भेटवार्तमा पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिबद्धता जाहेर गरेकी थिइन् । उनले मंगलबार ललितपुरको पाटन दरबार स्वाक्वयर क्षेत्रको अवलोकन गरेकी थिइन् । यस्तै, भक्तपुरको आदर्श माध्यामिक विद्यालयको अवलोकन पनि गरिन् । साथै विद्यालयमा विद्यार्थीसँग बास्केटबल खेल्नुका साथै अन्तर्क्रियासमेत गरेकी थिइन् ।