निर्मला पन्तको हत्यामा संलग्न आशङ्कामा सङ्कलन गरिएका ३ जनाको डीएनए रिपोर्ट नेगेटिभ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७० दिन अगाडि
निर्मला पन्तको हत्यामा संलग्न आशङ्कामा सङ्कलन गरिएका ३ जनाको डीएनए रिपोर्ट नेगेटिभ

काठमाडौँ -  निर्मला पन्तको हत्यामा संलग्न आशङ्कामा सङ्कलन गरिएका ३ जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको छ । 

कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मलाको हत्यामा संलग्न आशङ्कामा केन्द्रीय अनुसन्धान ब्युरोले ५ जनाको रगतको नमुना सङ्कलन गरेको थियो ।

सङ्कलित नमुना परीक्षण गर्दा ३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले दुईजना भारतीय नागरिकसहित ५ जनाको रगतको स्याम्पल सङ्कलन गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो ।

ब्युरो स्रोतका अनुसार भारतीय नागरिक मोहम्मद इस्लाम नामका दुईजना र एकजना भीमदत्त नगरपालिकाका स्थानीयको रिपोर्ट नेगेटिभ आएको छ । प्रहरीले भारतको पिल्भीथबाट मोहम्मद इस्लाम नामका दुई जना भारतीयको रगतको नमुना सङ्कलन गरेर काठमाडौँ ल्याएको थियो । कञ्चनपुरस्थित निर्मलाको घर नजिकै तरकारी खेती गर्ने किशानका छोरा मोहम्मद इस्लामसँग नाम मिलेपछि दुईजनाको नमुना सङ्कलन गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । २०७९ पुस २० मा उनीहरूको रगतको नमुना सङ्कलन गरेर काठमाडौँ ल्याइएको थियो ।

निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भयो । १३ बर्सिया निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले अहिलेसम्म  १२३ जनाको डीएनए जाँच गरेको छ । तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य छ । डीआईजी सिंह नेतृत्वको पछिल्लो समितिले डीएनए जाँच गर्न ५ जनाको रगतको स्याम्पल सङ्कलन गरेको थियो । तिमध्ये दुई जनाको रिपोर्ट आएको छैन ।

पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गर्नुपरेको हुनाले केन्द्रीय विधि विज्ञान प्रयोगशालाले दुईजनाको परीक्षण रिपोर्ट दिन सकेको छैन ।आरोपी पहिचान नहुँदासम्म सिआईबीले अनुसन्धान जारी राख्ने एसपी थापाले बताए । उनि भन्छन्–‘भजाइनल स्वाबसँग डीएनए मिल्नुको विकल्प छैन ।’