काठमाडाै-अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ यतिबेला प्रदर्शनरत छ ।
गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्मले अपेक्षित दर्शक भने पाउन सकिरहेको छैन । यसअघि पुस अन्तिममा साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आएको थियो । उक्त चलचित्रले पनि हलमा दर्शकको साथ पाउन सकेन । ३ साताको अन्तरमा प्रदर्शनमा आएका दुवै चलचित्र बक्स अफिसमा असफल साबित भए ।
यद्यपी, यी दुवै फिल्मका लागि साम्राज्ञी प्रचारप्रसारमा सक्दो दौडिएकी थिइन् । मोसफल यात्राको क्रममा कन्सर्ट एवं महोत्सवमा पुगेर उनले दर्शकसँग साक्षात्कार गरेकी थिइन् । त्यसक्रममा उनलाई हेर्न दर्शकहरुको भीड बाक्लो देखिएको थियो । तर, महोत्सव र कन्सर्टमा कलाकारलाई हेर्न आएका दर्शकहरु फिल्म हेर्न हलसम्म आएनन् । फलस्वरुप दुवै फिल्मले राम्रो व्यापार गर्न सकेनन् ।
साम्राज्ञीको फिल्म सफल नभएको धेरै समय भइसकेको छ । ‘ड्रिम्स’, ‘ए मेरो हजुर २’ र ‘इन्टु मिन्टु लण्डनमा’पछि उनका फिल्महरू निरन्तर असफल भइरहेका छन् । ‘तिमी संग’, ‘कायरा’, ‘रातो टीका निधारमा’ लगायतका उनका फिल्म यसअघि असफल भएका थिए । साम्राज्ञीको अर्को फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनका लागि तयार छ । साम्राज्ञी नेपाली फिल्म उद्योगमा महंङ्गी र डिमाण्डेड अभिनेत्रीका रुपमा चिनिँदै आएकी छिन् ।