साफ महिला फुटबलमा नेपाल फेरि उपविजेतामा सीमित

बंगलादेशले चुम्यो साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६८ दिन अगाडि
साफ महिला फुटबलमा नेपाल फेरि उपविजेतामा सीमित

काठमाडौं - फाइनलमा नेपाललाई ३–० ले पराजित गर्दै बंगलादेशले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ । 

बंगलादेशको कमल मुस्तफा रंगशालामा बिहीबार सम्पन्न फाइनलमा जित दिलाउन घरेलु टिमका सहिदा अख्तर रिपा, कप्तान सामसुनहर र मह्फुजा खातुनले गोल गरे । 

बंगलादेशले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ४२औँ मिनेटमा सहिदा अख्तर रिपाले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा कप्तान सामसुनहर जुनियरले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारिन् । यस्तै, खेल सकिन चार मिनेट बाकी रहदा मह्फुजा खातुनले गोल गरेपछि बंगलादेशले ३–० को जित पक्का गर्‍यो ।

बंगलादेश अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बनेको हो । पहिलो खेलमा नेपाललाई ३–१ ले हराएको बंगलादेश दोस्रो खेलमा भारतसंग गोलरहित बराबरीमा रोकिएको थियो । तर, तेस्रो खेलमा भुटानलाई ५–० ले पराजित गरेपछि बंगलादेश अपराजित रहँदै फाइनलमा प्रवेश गरेको थियो ।

यता पहिलो खेलमा बंगलादेशसंग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानविरुद्ध ४–० को र तेस्रो खेलमा उपाधि दाबेदार भारतको चुनौती ३–१ ले पन्छाउँदै च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको थियो । 

च्याम्पियनसिपमा नेपाल, भारत, भुटान र बंगलादेश गरी चार टिम सहभागी थिए । राउन्ड रोबिन पद्धतिमा संचालित प्रतियोगिताको शीर्ष दुई टिम फाइनल प्रवेश गरेका थिए ।