भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिवद्धता आवश्यक-राष्ट्रपति भण्डारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७७ दिन अगाडि
भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिवद्धता आवश्यक-राष्ट्रपति भण्डारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिवद्धता आवश्यक भएको बताएकी छन् ।

शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएकी हुन । राष्ट्रपति भण्डारीले कानूनी राज्य, मानव अधिकार र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयाे । भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिवद्धता आवश्यक रहेको उनकाे भनाइ थियाे । 

मुलुकमा उपलब्ध साधन, श्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवं भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको उहाँको बताउनुभएकाे छ । राष्ट्रपति भण्डारीले मुलुकको उच्चतम् हित र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रुपमा लिनुपर्ने बताउँदै भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्‍याउने बताउनुभयो ।

उहाँले भ्रष्टाचारका कारण नागरिकहरुमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुने बताउनुभयो । उहाँले संस्थागत रुपमा भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएको उल्लेख गर्नुभयाे। राष्ट्रपति भण्डारीले लोकतन्त्रमा राजनीतिक परिवेश बदलिने विषयलाई स्वभाविक रुपमा लिँदै संविधान र कानूनले निर्दिष्ट गरेका दायित्वहरु पूरा गर्न आयोग सदैव अग्रसर रहनुपर्ने बताउनुभयो ।

प्रशासनिक सेवालाई जनमुखी बनाउन समय अनुकूल सुधार गर्ने, सेवा प्रवाहलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने तथा सार्वजनिक निकायबाट गरिने खरिद प्रक्रियामा उत्तरदायित्व स्थापित गर्ने कार्यबाट भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल हुने राष्ट्रपतिको विश्वास छ । राष्ट्रपति भण्डारीले सार्वजनिक निकाय र पदाधिकारीले सदाचार पद्धतिको अवलम्वनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले जननिर्वाचित तीन तहकै सरकार, राज्यका सबै अंगहरु, निजी क्षेत्र, नागरिक समाज तथा सर्वसाधारण नागरिकको सहयोग र सहकार्यबाट भ्रष्टाचार नियन्त्रणमा ठोस प्रगति हासिल हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना, सुशासनको प्रत्याभूतिका लागि सबैले आफ्नो क्षेत्रबाट तत्परत र सक्रियता साथ काम गर्न आह्वान समेत गर्नुभयो ।