दाङ - लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् ।
माओवादी केन्द्रका नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी मुख्यमन्त्री निकट स्रोतले बताएको छ । माओवादी स्रोतले पनि उनले राजीनामा दिएको पुष्टि गरेको छ ।
स्रोतका अनुसार मन्त्रालयको भागबण्डाको विषयलाई लिएर मन्त्री केसीले राजीनामा दिएकी हुन् । मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेकी थिइन् । तर उनलाई आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको स्रोतले बताएको छ ।
आफूले पाउनु पर्ने मन्त्रालय नपाएको भन्दै पार्टीभित्र असन्तुष्टि जनाएर मन्त्री पदबाट केसीले राजीनामा दिएको माओवादी निकट स्रोतले बतायो । भौतिक पूर्वाधार मन्त्रालय माओवादीकै इन्द्रजित थारुलाई दिने मुख्यमन्त्रीको तयारी छ । माओवादीका नेता एवं प्रदेश सभा सदस्य इन्द्रजित थारुले भने राजीनामाको विषय पार्टीमा जानकारी नआएको प्रतिक्रिया दिए । मुख्यमन्त्री गिरीले आइतबार मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।