अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन हुदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६५ दिन अगाडि
अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन हुदै

काठमाडौं - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।

फागुन २–४ सम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन हुन लागेको हो । गत असोज १–२ सम्म विधान महाधिवेशन गरेको अनेरास्ववियुले राष्ट्रिय महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । त्यस्तै १७ सदस्यीय पदाधिकारी र ३ वटा आयोगहरू (अनुशासन, लेखा र निर्वाचन) को नेतृत्व चयन गर्नेछ । 

अनेरास्ववियुले सकेसम्म सहमतिको आधारमा नयाँ नेतृत्व चयन गर्ने प्रयत्न गर्नेछ । सहमतिको आधारमा नेतृत्व चयन हुन नसकेको खण्डमा निर्वाचन मार्फत नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिनेछ । 

करिब ७ वर्षपछि हुन लागेको यो महाधिवेशनबाट अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ केन्द्रीय कमिटीमा यो पटक नयाँलाई प्राथमिकता दिनेछ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले केन्द्रीय कमिटीमा अधिकतम नयाँ साथीहरूलाई निर्वाचित गराइने बताइन् । महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘केन्द्रीय कमिटीमा अधिकतम नयाँ साथीहरूलाई निर्वाचित गर्छौ । मापदण्ड पुरा गरेर आएका साथीहरूले त्यो अवसर पाउनेछन् ।’   

केन्द्रीय कमिटीमा सबै जिल्लाबाट सहभागीता गराउने प्रयास गरिने उनको भनाई छ । केन्द्रीय कमिटीलाई समावेशी र उर्जावान बनाउने गरी अघि बढिने उनले बताइन् ।