काठमाडौं - हिमाली जिल्लाहरूमा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भएकाले तुरुन्तै किताब उपलब्ध गराउन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ । फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ । तर अहिलेसम्म किताब पु¥याइएको छैन । सूचना अनुसार ७७ जिल्लामा वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भनेको छ । हिमाली जिल्ला सबै ठाउँमा यही फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुँदैछ । बाँकी दुई महिना त्यहाँका विद्यार्थीले गुच्चा खेल्नका लागि होइन सभामुख महोदय । सरकारले मतपत्र छाप्न सक्छ त किताब छाप्न किन सक्दैन ? छिटोभन्दा छिटो किताब उपलब्ध गराइयोस् ।’
उनले मतपत्र छाप्न सक्ने सरकारले किन समयमै पुस्तक छाप्न सक्दैन भन्ने प्रश्न समेत गरेका छन् ।