पहिचानमा आधारित राष्ट्रिय समितिलाई कार्यकारी बनाउन इन्चार्जहरुको माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७४ दिन अगाडि
पहिचानमा आधारित राष्ट्रिय समितिलाई कार्यकारी बनाउन इन्चार्जहरुको माग

काठमाडौँ -जनता समाजवादी पार्टी, नेपाल (जसपा) अन्तरगत रहेका राष्ट्रिय समितिका इन्चार्जहरुको बैठकले पहिचानमा आधारित राष्ट्रिय समितिलाई कार्यकारी बनाउन माग गरेको छ । 

सोमबार बालकुमारीमा बसेको १०+१ को राष्ट्रिय समितिका इन्चार्जहरुले बैकल्पिक राजनीतिक दलको सांगठनिक संरचना अन्य राजनीतिक दलहरु जस्तै ७ प्रदेशका आधारमा हुन नसक्ने भन्दै पहिचानमा आधारित राष्ट्रिय समितिलाई कार्यकारी बनाएर जानुपर्ने निष्कर्ष निकालेको हो । यस अघि सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकमा पहिचानमा आधारित राष्ट्रिय समितिलाई कार्यकारी बनाउने माग गर्दै करिब २०० केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाइएको थियो ।  यस विषयमा समितिको प्रतिनिधिमण्डलले केही दिनमै विधान मस्यौदा समितिलाइ ज्ञापन पत्र बुझाउने तयारी गरिरहेको जनाइएको छ । 

जसपाको विधान अधिवेशन नजिकिँदै गर्दा सांगठनिक संरचनाबारे विभिन्न फोरमहरुमा छलफलहरु अगाडि बढाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। हाल जसपाको विधानले ७ प्रदेशलाई कार्यकारी हैसियत प्रदान गरेको छ ।  बैठकमा प्रवास विशेष समितिका इन्चार्ज आङ्काजी शेर्पा, लिम्बुवान राष्ट्रिय समितिका इन्चार्ज खगेन्द्र माखिम, किरात राष्ट्रिय समितिका इन्चार्ज रमेश राई, शेर्पालुङ राष्ट्रिय समितिका इन्चार्ज लाक्पा शेर्पा, मगरात राष्ट्रिय समितिका इन्चार्ज बोम दर्लामी, खसान राष्ट्रिय समितिका इन्चार्ज प्रेमनारायण थापा, शिल्पी विशेष प्रदेश समितिका सह इन्चार्ज दलमर्दन कामी लगायतको सहभागिता रहेको थियो ।