काठमाडाै - युवा स्टार अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘कामिनो’मा अभिनेत्रीको रुपमा मोडल नीति शाह अनुबन्धित भएकी छिन् ।
दीपक वलीको निर्देशन रहने फिल्ममा नीति प्रमुख एक अभिनेत्रीका रुपमा अनुबन्धित भएकी हुन् । निर्माण टिमले बुधवार नीतिसँग अभिनयका लागि कागजी सम्झौता गरेको हो । फिल्ममा यसअघि नै प्रदीपसहित वर्षा शिवाकोटी र राजबल्लभ कोइराला अनुबन्धित भइसकेका छन् । फिल्ममा नीतिको जोडी अभिनेता प्रदीपसँग बाँधिनेछ । यसअघि उनीहरूले केही विज्ञापनमा एकसाथ काम गरेका छन् ।
महेश दवाडीको लेखन रहेको फिल्ममा एक्सेस नेपाल फिल्मस् निर्माताको रुपमा रहेको छ भने सुनिल विष्ट गौली कार्यकारी निर्माताको रुपमा छन् । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि फिल्म बन्न लागेको हो । चैत तेस्रो सातादेखि छायाँकनमा जाने फिल्मलाई सौरभ लामाले छायाँकन गर्नेछन् । नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा फिल्म निर्माण हुने निर्माण टिमले जनाएको छ । स्पेनिस भाषामा ‘कामिनो’ को अर्थ बाटो हुन्छ ।