बालाजु घटनाबारे डीआईजीको नेतृत्वमा छानबिन समिति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७२ दिन अगाडि
बालाजु घटनाबारे डीआईजीको नेतृत्वमा छानबिन समिति

काठमाडाै‌ -सोमबार यातायात व्यवसायीले गरेको आन्दोलन र त्यसपछि भएको क्षतिबारे जाँचबुझ समिति गठन गरिएको छ। 

घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालय नक्सालले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।  समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य छन् ।

सोमबार यातायात व्यवसायीले प्रहरीको जरिवानाको विरोध गर्दै प्रदर्शन गरेका थिए। उक्त क्रममा अधिकांश चालक तथा सहचालकहरूले लोत्से मलमा रहेको मोबाइल पसल लुटपाट गरेका थिए।  उनीहरूले प्रहरीको गाडीमा तोडफोडका साथै आगजनीसमेत गरेका थिए।  आज प्रहरीले लुटपाटमा संलग्न १५ जनालाई भने नियन्त्रणमा लिएको छ।