सांसदहरूले संसद्लाई ‘बिजनेस’नै नदिएको भन्दै सरकारको आलोचना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६१ दिन अगाडि
सांसदहरूले संसद्लाई ‘बिजनेस’नै नदिएको भन्दै सरकारको आलोचना

काठमाडौं - राष्ट्रियसभाका सांसदहरूले संसद्लाई ‘बिजनेस’नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरूको कार्यशैलीप्रतिनै असन्तुष्टि जनाए ।  

बिहीबार सिंहदरबारमा आयोजित राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले बैठक भनेर समय बिताउने मन्त्रीहरूको तौरतरिका ठिक नभएको बताए । सांसद दाहालले बेलुका सचिवसँग छलफल गरेर दिनभर काम गर्ने गरी समयको व्यवस्थापन गर्न पनि मन्त्रीहरूको गम्भीर ध्यानाकर्षण गराए । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद्लाई ‘बिजनेस’नै दिन नसकेको भन्दै सरकारको आलोचना गरिन् । उनले निजामती कर्मचारी ऐन कहाँ छ ? भनी सरकारलाई प्रश्न समेत गरिन् । सांसद पन्तले ऐन बनाउने काममा सरकारले ध्यान नदिएकाले प्रदेश र स्थानीय तहले काम गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारिन् । 

सांसद पन्तले संघीयताको कार्यान्वयनमा गम्भीर भएर लाग्न पनि सबै जनप्रतिनिधिहरूलाई आग्रह गरिन् । उनले महिला जनप्रतिनिधिहरू संघीयताको भावना अनुसार काम गर्न अझ बढी जिम्मेवार बन्नुपर्ने देखिएको पनि दोहो¥याइन् ।