निर्वाचन आयोगले चितवन २ कोउपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५९ दिन अगाडि
निर्वाचन आयोगले चितवन २ कोउपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं - निर्वाचन आयोगले वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगका अनुसार यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न सकिनेछ। नयाँ खुल्ने दलहरूले उपनिर्वाचनमा भाग लिन भने पाउने छैनन् । तर २०७९ फागुन ५ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले उपचुनावमा भाग लिन फागुन १६ गतेसम्म दल दर्ता निवेदन आयोगमा पठाइसक्नुपर्छ।

राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिनुपर्ने आयोगको भनाइ छ।

गत मंसिर ४ मा भएको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने निर्वाचित भएका थिए। तर सर्वोच्च अदालतले उनको उम्मेदवारी नै बदर गर्दै पद खारेज गरिदिएपछि यहाँ उपचुनाव हुन लागेको हो। उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ।

चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको आयोगले जनाएको छ। चैत २३ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ। उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार तय भने गरिसकेका छैनन्।