अफगानिस्तानमा भीषण हिमपहिरो र बाढीले व्यापक क्षति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४७ दिन अगाडि
अफगानिस्तानमा भीषण हिमपहिरो र बाढीले व्यापक क्षति

फैजाबाद - भारी वर्षाका कारण हिमपहिरो र बाढीले उत्तरी अफगानिस्तानमा व्यापक क्षति भएको छ ।

लाखौँको भौतिक सम्पत्ति नष्ट भएको छ भने  सयौँ मानिस घरबारविहीन भएका छन् ।

प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले देशको उत्तरी बदख्सान प्रान्तको कोफाब जिल्लामा शनिबार दिउँसो भीषण वर्षा भएको जानकारी दिँदै जिल्लाको चान्टियो गाउँमा हिमपहिरो र बाढीले २० घर, २५ पसल र छ सय एकड जमिन पूर्णरुपमा ध्वस्त पारेको बताएका छन् । 

साथै उनले पीडित परिवारलाई सहयोग गर्न आह्वान गरेका छन् । विपद् पीडित परिवारलाई बेवास्ता गर्दा उक्त गाउँमा थप विपत्ति निम्तने चेतावनी उनले दिएका छन् । 

केही दिनअघिको भूकम्पले प्रान्तीय राजधानी फैजाबादमा र बाहिरका ७५ आवासीय घर  ध्वस्त पारेको थियो । अफगानिस्तानमा पछिल्लो एक महिनामा भारी हिमपात र हिमपहिरोका कारण बालबालिकासहित करिब दुई सय जनाको ज्यान गएको छ ।