काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाइले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा राजावादी गतिविधि गर्दै आएका थिए ।
प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर झापको मेचीपुलबाट महाअभियानको घोषणा गरेपछि त्यस्को एमालेमा ब्यापक विरोध भएको थियो । सोही घटनालाई लिएर एमालेको स्थानीय कमिटीले प्रसाइलाई कारवाही गर्न केन्द्रमा सिफारिस गरेको थियो । एमालेले निर्णय नलिँदै प्रसाई आफैंले एमालेबाट अलग भएको घोषणा गरेका हुन् ।
प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।
एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट प्रसाई पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक थिए । पूर्वराजासँग नजिकिएसँगै प्रसाईको गतिविधिबारे एमालेमा विरोध सुरु भइरहेको थियो ।