काठमाडौँ -नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिभित्र कुनै एक व्यक्तिले गरेको गल्तीका कारण पूरै राजनीति बदनाम हुने गरेको बताएका छन् ।
कर्णाली उत्सवको चौथो संस्करणको ‘सग्लो समाज : सङ्लो राजनीति’ सत्रमा वक्ताका रुपमा सहभागी शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्णा जागेको बताए ।
‘राजनीतिभित्र भएका सबै मानिस एउटै छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन’, उनले भने, ‘गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनु जस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको पाइन्छ ।’
हरेकजसो संस्थामा राजनीतिकरण हुने गरेकाले अहिले राजनीति निष्पक्ष नभएको उनको भनाइ छ । महामन्त्री शर्माले राजनीतिक रुपमा हुने हरेक निर्णयहरु पारदर्शी हुनुपर्ने बताए ।