काठमाडौं - राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को बैठक बस्ने भएको छ।
अपरान्ह साढे ४ बजे पार्टी केन्द्रीय कार्यालाय पेरिसडाँडामा बस्ने बैठकमा अहिलेसम्म भएका वार्ता र छलफलबारे रिपोर्टिङ हुने पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए । ‘अहिलेसम्म भइरहेका छलफलबारे रिपोर्टिङ हुन्छ । अब कसरी अघि बढ्ने भनेर म्यान्डेट लिने काम हुन्छ होला,’ उनले भने।
अहिले प्रधानमन्त्री प्रचण्ड पोखरामा छन् । पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन उनी पोखरा गएका हुन्। पोखराबाट फर्किएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्नेछ।
राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ । नेकपा माओवादी केन्द्रले सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएको छ। उसले सहमति नभए एमालेलाई साथ दिन नसक्ने स्पष्ट पारेको छ । एमालेले भने आफ्नो उम्मेदवार बाहेकमा सहमति हुन नसक्ने अडान राखेको छ।