काठमाडाै -नेपाली नयाँवर्षमा नेपाली फिल्मबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
वैशाख १ गतेका लागि ५ वटा नेपाली फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । जसमा अभिनेता दयाहाङ राईका दुई फिल्म छन् । अभिनेता राईको शीर्ष भूमिका रहेको ‘बिहे पास’ र ‘जारी’ एकैदिन प्रदर्शनमा आउने भएका हुन् । प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहे पास’मा दयाहाङसँगै प्रकृति श्रेष्ठ, शिशिर वाङ्देल, बुद्धि तामाङ, रबिन्द्र झा लगायतको अभिनय छ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता रोजन श्रेष्ठ हुन् ।
यता, उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको ‘जारी’मा दयाहाङसँगै मिरुना मगर शीर्ष भूमिकामा छिन् । ‘कबड्डी’ फ्रेम्ड निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्ममा प्रेम सुब्बा, विजय बराल, रोयदिप श्रेष्ठ, रेखा लिम्बु, कमलमणि नेपाल लगायतको अभिनय छ ।
‘बिहे पास’को टिजर बुधवार सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ भने ‘जारी’को टिजर केही दिनअघि नै सार्वजनिक भइसकेको छ । एउटै मितिमा आफ्ना दुई फिल्म प्रदर्शनमा आउने भएपछि अभिनेता दयाहाङ राईले दबाब महसुस गरिरहेका छन् । त्यसैले पनि हुनसक्छ उनले ‘बिहे पास’को पोष्टर सेयर गर्दै उनले क्याप्सन लेखेका छन्, ‘वैशाख १ मा ‘जारी’ गरेर ‘बिहे पास’ हुने भो !’ दयाहाङ अभिनीत ‘फूलबारी’ यतिबेला हलमा प्रदर्शनरत छ ।