अनेरास्ववियुले क्याम्पस भेलाबाट स्ववियुका सम्भावित उम्मेदवार छनौट गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५७ दिन अगाडि
अनेरास्ववियुले क्याम्पस भेलाबाट स्ववियुका सम्भावित उम्मेदवार छनौट गर्ने

काठमाडौँ - अनेरास्ववियुले क्याम्पस भेलाबाट स्ववियुका सम्भावित उम्मेदवार छनौट गर्ने भएको छ ।

अनेरास्ववियुको पदाधिकारी बैठकले फागुन १३ गते स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा विद्यार्थी भेला गरेर सम्भावित उम्मेदवार छनौट गर्ने निर्णय गरेको थियो । 

फागुन १३ गते देशैभरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा भेला गरेर उम्मेदवारहरू छान्न प्रक्रिया सुरु गर्न केन्द्रले तल्ला कमिटीहरूलाई निर्देशन दिइसकेको छ । सोही आधारमा क्याम्पस भेला गर्ने र सम्भावित उम्मेदवारहरूको सूची सङ्कलन गरेर केन्द्रमा पठाइने र केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिए । 

चैत ५ गतेका लागि तोकिएका स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले तयारी तीव्रता दिएको छ । अध्यक्ष बडालको नेतृत्वमा निर्वाचन परिचालन मूल समिति बनेको छ । जसमा पुरै केन्द्रीय कमिटी, सबै आयोगका पदाधिकारीहरू, जिल्ला कमिटीका अध्यक्षहरू, स्वविय निर्वाचन हुने क्याम्पसका अध्यक्षहरू सदस्य छन् । यही समिति मातहत उपाध्यक्षहरूको नेतृत्वमा चार वटा उपसमिति बनेका हुन् । 

उपाध्यक्ष नारायण घर्तीको नेतृत्वमा घोषणापत्र लेखन उपसमिति बनेको छ । त्यस्तै उपाध्यक्ष गोविन्द गिरीको नेतृत्वमा प्रचार प्रसार उपसमिति बनेको छ । अर्का उपाध्यक्ष धर्म गिरीको नेतृत्वमा आर्थिक सहयोग उपसमिति बनेको छ । उपाध्यक्ष मर्यादा विष्टको नेतृत्वमा स्वयंसेवक परिचालन उपसमिति बनेका छन् । 

ती उपसमितिहरूले फागुन १५ गतेभित्र आफ्नो प्रतिवेदन केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने अध्यक्ष बडालले बताए । केन्द्रले उम्मेदवारका मापदण्ड समेत तल पठाइसकेको छ । त्यही आधारमा मापदण्डभित्र रहेर सम्भावित उम्मेदवारको विवरण केन्द्रमा पठाउनुपर्नेछ ।