टर्कीमा फेरि शक्तिशाली भूकम्प

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६४ दिन अगाडि
 टर्कीमा फेरि शक्तिशाली भूकम्प

काठमाडौँ - टर्कीमा सोमबार फेरि शक्तिशाली भूकम्प गएको छ ।

सोमबार गएको भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएका छन् । ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। सिरिया र टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ।

टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८ः४४ मा भूकम्प गएको जनाएको छ । यो भूकम्प आएपछि दर्जनौं पटक ‘आफ्टर शॉक’ को धक्का महसुस गरिएको थियो।

यसअघि गत फागुन ६ गते गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। राहत कार्यकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन्। सोमबारको भूकम्पमा परी मृत्यु हुनेहरु अन्टाक्या, दाफ्ने र समन्दगीका बासिन्दा थिए। सरकारले जोखिमयुक्त भवनबाट बाहिर निस्कन सर्वसाधारणलाई अपिल गरेको छ।

अन्टाक्याका मेयरले यस भूकम्पका कारण अझै केही व्यक्ति भग्नावशेषमा फसेको हुनसक्ने बताए। टर्की प्रशासनले फेब्रुअरी ६ मा गएको शक्तिशाली भूकम्पपछि ६ हजार पराकम्पन महसुस गरेको जनाएको छ। टर्कीमा रहेको बीबीसी टोलीले सोमबार महसुस गरेको भूकम्प यसअघि आएको हल्का भूकम्प भन्दा धेरै शक्तिशाली भएको बताएको छ।