केपी ओली कप फुटबल: ट्रफी र अफिसियल गीत सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४५ दिन अगाडि
केपी ओली कप फुटबल:  ट्रफी र अफिसियल गीत सार्वजनिक

काठमाण्डौ -नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको आयोजनामा केपी ओली कप–२०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको प्रतियोगिताको ट्रफी अनावरण र अफिसियल गीत सार्वजनिक भएको छ।

केपी ओली कप–२०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन फागुन ११ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको हो। फुटबल प्रतियोगिता १७ गतेसम्म चल्ने र फाइनल प्रतियोगिता सोही दिन हुने राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए। 

अध्यक्ष पौडेलले केपी ओली राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष भएकाले उनको सम्मान गर्न र समकालीन नेताहरुमध्य ओलीले खेलकुद बुझेको र चासो राख्ने भएकाले उनको नाममा फुटबल प्रतियोगिता गरिएको बताए। ओली समर्थकको ध्यानलाई खेलकुद क्षेत्रप्रति डाइभर्ट गर्न सकेमा खेलकुद क्षेत्रमा ठूलो लगानी र योगदान हुने सम्भावना बढ्ने भएकाले पनि यो प्रतियोगिता गरिएको उनले उल्लेख गरे। 

यस प्रतियोगिताले अन्य राजनीतिक दलहरुका भ्रातृ संगठनलाई पनि प्रतियोगिता गर्न प्रेरित गर्ने र खेल क्षेत्रमा आर्थिक क्षेत्र चलायमान हुने उनले उल्लेख गरे। अध्यक्ष पौडेलले प्रतियोगिताको उद्घाटन खेल क्षेत्रका कुनै शिखर पुरुषले गर्ने बताए। 

‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् । एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

ट्रफी सार्वजनिक कार्यक्रममा युवा फाँटका इन्चार्ज एवं एमाले नेता महेश वस्नेत,युबा संघ पुर्व अध्यक्ष राजीव पहारी ,एन्फा अध्यक्ष पंकज नेम्वाङ्ग लगायत युवा संघका नेता कार्यकर्ता बाक्लो रुपमा सहभागी भएका थिए।