मूलघाटदेखि पाँचथर सडक खण्डमा कालोपत्रेको काम सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६७ दिन अगाडि
मूलघाटदेखि पाँचथर सडक खण्डमा कालोपत्रेको काम सुरु

 तमोर कोरिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथर सडक खण्डमा कालोपत्रेको काम सुरु भएको छ ।

साँगुरीगढी गाउँपालिका–१ मूलघाटदेखि पाँचथरको गणेश चोकसम्मको सडक कालोपत्र गर्ने काम सुरु भएको हो । 

तमोर कोरिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरसम्मको सडक एक सय १० किलोमिटर रहेको छ । जसमध्ये धनकुटाको मूलघाटदेखि पाँचथरको हाङठुवासम्म ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङठुवादेखि पाँचथरको गणेश चोकसम्म ४४ किलोमिटरलाई दोस्रो खण्ड मानेर काम थालिएको छ । रौतहा क्षमादेवी (जेभी) निर्माण कम्पनी काठमाण्डौले पहिलो खण्डको सडक कालोपत्र गर्ने जिम्मा लिएको छ भने दोस्रो खण्डको कालोपत्र गर्ने जिम्मा एपेक्स कन्ट्रक्सन निर्माण सेवा काठमाण्डौले पाएको छ ।

यो सडक खण्ड कालोपत्र गर्न पाँच अर्ब ७६ करोड रुपैयाँ लाग्ने तमोर कोरिडोर धरानका योजना प्रमुख कुबेर नेपालीले बताएका छन्। तमोर कोरिडोरअन्तर्गत प्रदेश नम्बर १ को राजधानी विराटनगरको रानीबाट ताप्लेजुङको ओलाङचुङगोलासम्म दुई सय ८० किलोमिटर रहेको छ । 

ताप्लेजुङको ओलाङचुङगोला छिमेकी देश चीनसँगको सीमावर्ती क्षेत्र हो । तमोर कोरिडोर सडक निर्माण सम्पन्न भएपछि चीन र भारत जोड्ने नेपालकै छोटो दुरीको सडक मार्ग बन्नेछ । तमोर कोरिडोरको यो सडक निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका तमोर नदी तटीय क्षेत्रका नागरिकलाई तराई झर्न सहज हुनेछ ।