राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गरिँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५६ दिन अगाडि
राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गरिँदै

काठमाडौँ -राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गरिने भएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रूपमा रहेका पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलका अनुसार आज अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ । नामावली प्रकाशनपछि दाबी–विरोध गर्ने तथा नाम सच्याउन दुई दिनको समय दिइनेछ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्यले मतदान गर्न पाउनेछन । उम्मेदवार हुन भने संघीय संसद् र प्रदेश सभाका सदस्य हुनु पर्ने व्यवस्था छैन ।

संघीय संसद्का तीन सय ३४ र प्रदेश सभाका पाँच सय ५० गरी कुल आठ सय ८४ मतदाता छन । २०७८ को जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले २०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय आयोगले गरेको छ । जस अनुसार संघको एक सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार कायम रहेको निर्वाचन आयोगले जनाएको छ । फागुन १३ मा राष्ट्रपतिका लागि र फागुन २७ मा उपराष्ट्रपतिका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यसूची निर्वाचन आयोगले प्रकाशन गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ।