डीआईजी अशोक सिंहले राजीनामा दिने तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६७ दिन अगाडि
डीआईजी अशोक सिंहले राजीनामा दिने तयारी

काठमाडौं -  नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालय पुगेर उनले राजीनामा बुझाउने तयारी गरेका हुन् । सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।

बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक-फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो । जन्ममिति विवाद सार्वजनिक भएपछि सिंह राजीनामा दिने तयारीमा लागेको स्रोतले बतायो ।

जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । सिंहको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १६ पुस २०२५ जन्ममिति उल्लेख छ । त्यही अनुसार प्रहरी प्रधान कार्यालयको सिट रोलमा उनको जन्ममिति कायम गरिएको देखिएको छ ।

तर, प्रहरी नियमवालीमा सेवा प्रदेश गर्दा सम्बन्धित व्यक्तिले लिएको नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र वैयक्तिक विवरण सबैमा एउटै मिति नभए जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिका आधारमा हिसाब हुने भनिएको छ । त्यस अनुसार उनको जन्ममिति नागरिकता अनुसार कायम २०२४ कायम हुनुपर्ने प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् ।

नागरिकता अनुसारको उमेर कायम भएको भए सिंहले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को उमेर हदका कारण २२ जेठ २०७९ मै अवकाश पाउनुपर्ने हो । सिटरोलमा फरक विवरण हुँदा उनी डीआईजी बढुवा मात्र भएनन्, एआईजी बढुवामा पनि बलियो दाबेदारी प्रस्तुत गरिरहेका थिए ।

जन्ममितिको विवाद सहतमा आएपछि सिंहले आफूमाथि प्रतिशोध साँधिएको बताउने गरेका छन् । ‘यत्तिका वर्षसम्म कुनै समस्या भएको थिएन, अहिले आएर विवाद झिक्नु प्रतिसोध मात्र हो’, उनको दाबी छ ।

प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले भने बाहिर आएका विषयहरुबारे मात्रै जानकार रहेको अनविज्ञता प्रकट गरेका छन् ।