४० वटा सामुदायिक बिद्यालयमा नमुना एसईई परीक्षा सञ्चालन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६५ दिन अगाडि
४० वटा सामुदायिक बिद्यालयमा नमुना एसईई परीक्षा सञ्चालन

नेपालगञ्ज - बाँकेको खजुरा, राप्तीसोनारी र बैजनाथका ४० वटा सामुदायिक बिद्यालयले एसईई परीक्षाका बारेमा रहेको डर र अन्यौल हटाएर विद्यार्थीमा आत्मबल बढाउन भन्दै नमुना एसईई परीक्षा सञ्चालन गरेका छन् ।

परीक्षामा २ हजार ६ सय २७ जना विद्यार्थी सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा चैत १७ देखि सुरु गर्ने गरी तालिका सार्बजनिक गरेको छ । त्यसकै तयारीमा रहेका विद्यार्थीका लागि नमुना एसईई सञ्चालन गरिएको हो । 

विद्यालयले सञ्चालन गर्ने आन्तरिक परीक्षामा मात्रै सहभागी हुँदै आएका विद्यार्थीहरु एकै पटक एसईई परीक्षामा सामेल हुँदा विद्यार्थीमा डर र आशंका धेरै हुन्छ । जानेको प्रश्नहरुको उत्तर पनि सहि तरिकाले दिन नसक्ने, समयको व्यवस्थापन गर्न नसक्ने जस्ता समस्या देखिएपछि विद्यार्थीलाई आश्वस्त पार्न विद्यालय व्यवस्थापन समितिहरुले रुम टु रिडको सहयोगमा नमुना एसईई परीक्षा सञ्चालन गरेको ज्ञानोदय माबिका सहायक प्र.अ यमनारायण महतोले बताए ।

परीक्षापछि शिक्षकहरुले उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीहरुमा देखिएका कमी कमजोरीहरुलाई सुधार्नका लागि थप सल्लाह सुझाब दिन व्यवस्था मिलाइएको छ । सहायक प्रअ महतोले नमुना परीक्षाको तयारीका लागि विद्यार्थीले गर्ने मिहिनेत, परीक्षा दिँदाको अनुभव र परीक्षापछि शिक्षकहरुबाट पाउने सल्लाह सुझाबपछि विद्यार्थीहरुले एसईई परीक्षा राम्रो नतिजा ल्याउने  बताएका छन् ।