नागरिक एपमा भएको सवारी लाइसेन्स ट्राफिकले किन चिन्दैन -सांसद असिम साह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६७ दिन अगाडि
नागरिक एपमा भएको सवारी लाइसेन्स ट्राफिकले किन चिन्दैन -सांसद असिम साह

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले सरकारको एउटा अंगले मान्यता दिएको कुरा अर्को अंगले किन मान्यता नदिएको भन्दै प्रश्न उठाएका छन् ।

सरकारले जारी गरेको नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई प्रहरीले किन मान्यता नदिएको भन्दै प्रश्न उठाएका छन् ।  बुधबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद साहले भने,‘अहिले डेढ करोड नेपाली मोबाइल बैंकिङ प्रणालीमा जोडिएका छन् । नेपाल सरकारले केही समय अघि नागरिक एप लन्च गरेको थियो, जुन २१ लाखले डाउनलोड गरेका छन् । यो एपबाट सबै सेवा एक ठाउँमा लिन सकिन्छ । यसै एपमा एउटा सेक्सन छ, ड्राइभिङ लाइसेन्स । जहाँबाट लाइसेन्सको सफ्टकपि हेर्न मिल्छ । त्यहीँबाट कर तिर्न बाँकी रहेको वा नरहेको मज्जाले हेर्न मिल्छ । तर विडम्बना के छ भने सरकारले बनाएको यो एपलाई अर्को सरकारी कार्यालयले चिन्दैन ।’ 

सांसद साहले अगाडि भने,‘एकातिर सरकारले लाइसेन्स प्रिन्ट गर्न नसकेर नागरिकलाई सास्ती दिइरहेको छ भने अर्कोतिर अरबौं रुपैयाँ छपाइमा खर्च गरिहरेको छ । एउटा सरकारी निकायको समन्वय अर्को सरकारी निकायसँग हुन नसक्नुमा के ले रोकेको छ ? यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीबीच समन्वय भएमा मात्र हामीले सफ्ट लाइसेन्स बोकेर हिँड्न सक्छौँ । यसतर्फ म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले सरकारी निकायहरुबीच समन्वय गरेर अघि बढ्नका लागि आग्रह गरे ।