काठमाडौँ - प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताहरुबीच बस्ने भनिएको बैठक स्थगित भएको छ ।
बेलुका ५ बजे शीर्ष नेताहरुबीच राष्ट्रपतिका विषयमा छलफल गर्ने भनिएपनि अन्तिममा बैठक रोकिएको हो । अर्को समय निर्धारण गरेर शीर्ष नेताहरुको बैठक बस्ने प्रधामन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।
राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्न शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गरिएको छ । संयुक्त बैठक रोकिए पनि एकल रुपमा पुराना गठबन्धनका शीर्ष नेताहरुलाई भेट्ने तयारी गरिएको माओवादी केन्द्रका एक नेताले बताए ।
आज बेलुका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेतालाई भेटेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा शीर्ष नेतालाई भेट्ने तयारी रहेको नेताले बताए ।
राष्ट्रपतिका विषयमा प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटेका थिए । प्रचण्ड र नेपालको भेटमा उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहभागी भएका थिए ।