सातदोबाटो युथ क्लब केपी ओली कपकाे सेमिफाइनलमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४३ दिन अगाडि
सातदोबाटो युथ क्लब केपी ओली कपकाे  सेमिफाइनलमा

काठमाडौं - सातदोबाटो युथ क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।

एन्फा कम्प्लेक्समा बिहीबार नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटो अन्तिम चारमा पुगेको हो । सातदोबाटोको जितमा दीपक राज सिंह ठकुरीले दुई गोल गरे । पुलिसका प्रविन थापाले एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा दिपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ४९ औं मिनेटमा प्रविनले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७१ औं मिनेटमा दिपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाए । अब सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले  आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ ।