अक्षय कुमारले भारतीय पासपोर्टका लागि दिए आवेदन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४२ दिन अगाडि
अक्षय कुमारले भारतीय पासपोर्टका लागि दिए आवेदन

 काठमाडाै‌ - बलिउड अभिनेता अक्षय कुमारले भारतीय पासपोर्टका लागि आवेदन दिएका छन्। 

उनीसँग क्यानडाको नागरिकता थियो। क्यानडाका नागरिक भएको कारण उनी सामाजिक सञ्जालमा ट्रोल भइरहन्थे।भारतीय सञ्चारमाध्यम आज तकलाई दिएको अन्तर्वार्तामा उनले क्यानडाको नागरिकता बारेमा खुलेर कुराकानी गरेका छन्।

 'मेरो लागि भारत सबथोक हो। मैले जे कमाए, जे पाएँ त्यो भारतबाटै पाएको हुँ। म भाग्यशाली छु। जब मानिसहरू केही नबुझी जे पनि भन्छन् त्यतिबेला नराम्रो लाग्छ,' उनले भने। उनले फिल्ममा खासै प्रगति गर्न नसकेर क्यानडा गएको बताउँदै भने, ‘फिल्म नचलेपछि मैले अन्य काम गर्नुपर्छ। म कामको सिलसिलामा क्यानडा गएको थिएँ । मेरो साथी क्यानडामा थियो र उनले त्यहाँ आउन भने। मैले आवेदन दिएर क्यानडा गएँ। मेरो दुई फिल्म रिलिज हुन बाँकी थियो। ती फिल्म सुपरहिट भयो। त्यसपछि मेरो साथीले मलाई फर्केर भारत जान र काम सुरू गर्न भन्यो।’

उनी अभिनीत फिल्म ‘सेल्फी’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। राज मेहताले निर्देशक गरेको फिल्म ‘सेल्फी’ मा अक्षयसँगै इमरान हाशमी, नुरत भरूचा, मृणाल ठाकुरलगायत कलाकारको अभिनय छ।फिल्ममा अक्षय एक सुपरस्टार विजयको भूमिकामा देखिएका छन् भने इमरान हाशमी उनको फ्यानको भूमिकामा देखिएका छन्।  हिरो यश जोहर, अरुण भटिया, सुप्रिया मेनन, करण जोहर, पृथ्वीराज सुकुमारण, अपुर्वा मेहताको लगानी रहेको फिल्मको कथा र पटकथा ऋशव शर्माले तयार पारेका हुन्। यो फिल्म मलयालम फिल्म ‘ड्राइभिङ लाइसन्स’ को हिन्दी रिमेक हो ।