काठमाडौं - राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि नेपाल सरकारले विनियोजन गर्ने बजेट सीमा (सिलिङ) तोकेको छ ।
आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सिलिङ तयार पारेको हो । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १६ खर्ब ८८ अर्ब ४० करोड रुपैयाँको सीमाभित्र रही बजेट तयार पार्न सरकारलाई सिलिङ दिएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको लागि आयको अनुमान निकाल्दै बजेट सीमा सिफारिस गरेको हो । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बराबरको बजेट ल्याएको थियो । तर मध्यावधि समीक्षामार्फत सरकारले बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ घटाएको छ ।
आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिसम्म राजस्व परिचालनमा देखिएको सूचांकन, वैदेशिक सहायता परिचालनमा अनुदानको घट्दो प्रवृत्ति र विनिमय दरमा भएको वृद्धिका कारण साँवा–ब्याज भुक्तानीमा पर्नसक्ने थप चाप तथा आन्तरिक ऋण भुक्तानीको व्ययभारसमेतको विश्लेषण गरी राष्ट्रिय स्रोत परिचालनको यथार्थपरक अनुमान तथा प्रक्षेपण गरिएको छ ।’