राष्ट्रपति निर्वाचनसम्म एमाले सरकारमै रहने,नयाँ गठबन्धन भत्किने आशंका

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५२ दिन अगाडि
राष्ट्रपति निर्वाचनसम्म एमाले सरकारमै रहने,नयाँ गठबन्धन भत्किने आशंका

काठमाडौं - प्रधानमन्त्री चयनका बेला जुटेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको सहमति राष्ट्रपति पदको निर्वाचनसम्म पनि टिकेन । गएको पुस १० गते माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा राष्ट्रपति एमालेले पाउने मौखिक सहमति भएको थियो ।

तर, सरकारको नेतृत्व गरिरहेको माओवादीसहित आठ दलले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा उमेदवार बनाएका छन् । एमालेले पूर्वसभामुख एवं पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उमेदवार बनाएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा हुँदै छ ।

सत्ताको नेतृत्व गरिरहेको दल अर्को गठबन्धनमा मिसिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिइसकेको छ । राप्रापका मन्त्रीहरूले शनिबार प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामापत्र बुझाइसकेका छन् ।

नयाँ राजनीतिक घटनाक्रमसँगै सत्तामा रहेको दल एमाले पनि नैतिक संकटमा परेको छ । तर, राष्ट्रपतिको निर्वाचनसम्म पर्खने पार्टीको रणनीति छ । शनिबार राष्ट्रपतिको उमेदवार छान्न बसेको एमाले सचिवालय बैठकबाट सरकारबारे कुनै निर्णय लिइएन । राष्ट्रपतिको निर्वाचनसम्म पर्खने बैठकको निष्कर्ष थियो ।

राष्ट्रपति बनाउन समर्थन गरेका दलले पौडेललाई मत दिएमा उनी निर्वाचित हुने निश्चितजस्तै छ । आठदलीय गठबन्धनको मतभार ३१ हजार ८२१ छ । एमालेसँग १५ हजार २८१ मतभार छ ।

आठबाहेकका दलले एमालेका उमेदवारलाई सघाउँदा पनि गठबन्धनकै पल्लाभारी हुने देखिन्छ । तर, आठदलीय गठबन्धन भत्काउन सकिने सम्भावना भएकाले एमालेले उमेदवारी दिएको एक पदाधिकारी बताउँछन् ।