काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेलाई सरकार छाड्न सन्देश दिएका छन् । परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेर प्रचण्डले एमालेलाई उक्त सन्देश दिएका हुन् ।
मानवअधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज जेनेभा प्रस्थान गर्न लागेकी मन्त्री पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेका हुन् । पत्रकार सम्मेलनमार्फत बिहानसम्म जाने भनेर तयारी भएको तर, दिउँसो प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि अचानक भ्रमण रोकिएको मन्त्री पौड्यालकाे सचिवालयले जनाएकाे छ ।
पुस १० मा बनेको सातदलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर भत्किएर आठदलीय गठबन्धन बनेको छ । एमाले र आठदलीय गठबन्धनले राष्ट्रपतिमा छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् । आठदलीय गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई अघि सारेको छ ।परराष्ट्रमन्त्री पौड्यालले पनि अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण रोकिदिएको बताएकी छन् । 'प्रधानमन्त्रीज्यूले मलाई जेनेभा नजानू भन्नुभयो,' पौड्यालले भनिन्, 'सोही कारण मेरो जेनेभा भ्रमण रोकिएको हो ।' प्रचण्डको निर्देशनपछि अन्तिम समयमा आएर पौड्यालको भ्रमण रोकिएको थियो ।
उता सरकारमा सहभागी राप्रपाले सरकारबाट फिर्ता हुँदै समर्थन पनि फिर्ता लिएको छ । जसका कारण ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा प्रचण्ड छन् । त्यस्तो अवस्थामा एमालेलाई पनि सरकार छाड्न प्रचण्डले पौड्यालको भ्रमण रोकेर सन्देश दिएका हुन् ।