काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताएकी छन् ।
सोमबार सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब०को कार्यालय निरीक्षण तथा भेटघाटका क्रममा उनले ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि सो अनुकूल पर्याप्त कानुन नभएकाले आफू कानुन निर्माणमा केन्द्रित भएको बताइन् । उनले नेपाली समाज धेरै अगाडि बढे पनि कतिपय क्षेत्रमा पन्चायतकालीन कानुन रहेकाले यसको परिवर्तन गर्न सरकार लागेको उल्लेख गरिन् ।
नेपालको परिवर्तन र जागरणमा सामुदायिक रेडियोहरुको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै उनले अब संख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिन आग्रह गरिन् ।अहिले समाजमा पर्याप्त कानुनी चेतनाको अभावमा बहुविवाह, छुवाछुतजस्ता जघन्य अपराधहरु भइरहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमहरुले कानुन साक्षरतामा सहयोग पुने सामग्री निर्माणमा ध्यान दिनुपर्ने बताइन् । अकोराबका अध्यक्ष अर्जुन गिरीले संघीय कानुन निर्माण गरी सामुदायिक रेडियोमा सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएका थिए ।