लिखु हाइड्रो पावरमा कर्मचारीको मृत्यु, ५ दिनदेखि उठेन शव

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६२ दिन अगाडि
लिखु हाइड्रो पावरमा कर्मचारीको मृत्यु, ५ दिनदेखि उठेन शव

काठमाडौं -रामेछापको उमाकुण्ड गाउँपालिकास्थित लिखु हाइड्रो पावर कम्पनीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ ।

सवारी चालकका रुपमा कार्यरत कुभुकास्थलीका ४१ वर्षीय उद्योगबहादुर कटवालको मृत्यु भएको हो ।  गाडी पुछ्ने क्रममा एक्कासी बेहोस भएका उनलाई समयमा उपचारका लागि अस्पताल नल्याइँदा मृत्यु भएको परिवारको आरोप छ । मृतक कटवालका आफन्त सुशील थापाका अनुसार अघिल्लो बुधबार उनी एक्कासी विरामी भएपछि उपचारका लागि हेलिकोप्टरमा लगिदिन अनुरोध गरिएको थियो ।

तर, कम्पनीका सञ्चालकहरुले वास्ता नगरेको उनी बताउँछन् । ‘गम्भिर भएपछि उहाँले आफैं पैसा तिर्छौं, हेलिकोप्टरको व्यवस्था गरिदिनु भन्नुभएको रहेछ’, थापाले  भने, ‘तर, उनीहरुले ट्यांकरमा पठाइदिएछन् ।’ परिवारका सदस्यलाई पनि समयमा यसबारे जानकारी नगराइएको पीडित पक्षको आरोप छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार अहिले दुई पक्षबीच छलफल भइरहेको छ । हालसम्म शव स्थानीय स्वास्थ्य चौकीमै अलपत्र छ ।