पोखरा - चालु आर्थिक वर्षको माघ मसान्तसम्म कास्कीमा ३१ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म करणीसम्बन्धी ४५ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये जबरजस्ती करणीका ३१, जबरजस्ती करणी उद्योगका ४, अप्राकृतिक मैथुन एक र बालयौन दुरुपयोगका ९ वटा घटना दर्ता भएका छन् ।
जबरजस्ती करणी घटनाको पछिल्लो तीन वर्षको तथ्यांक नियाल्ने हो भने पछिल्ला वर्षहरुमा जबर्जस्ती करणीको घटना बढ्दै गइरहेको देखिन्छ । अघिल्लो आर्थिक वर्षभरीमा ६४ वटा उजुरी दर्ता भएकोमा चालु आर्थिक वर्षको ६ महिनामै ३१ वटा घटना दर्ता भइसकेका छन् । पछिल्लो ४ वर्षमा सबैभन्दा बढी जबर्जस्ती करणीको उजुरी दर्ता भएको पनि त्यही हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाका अनुसार आर्थिक वर्ष ०७६र७७ मा ६३ वटा उजुरी दर्ता, ०७७र७८ मा ५८ जबर्जस्ती करणीका उजुरी दर्ता भएका थिए । पछिल्लो ४ वर्षमा सोही आर्थिक वर्षमा नै सबैभन्दा बढी अप्राकृतिक मैथुनका घटना पनि दर्ता भएको थियो ।
जबरजस्ती करणी उद्योगतर्फ भने सबैभन्दा बढी आर्थिक वर्ष ०७६र७७ मा दर्ता भएका छन् । उक्त आर्थिक वर्षमा २६ वटा जबर्जस्ती करणी उद्योग दर्ता हुँदा सबैभन्दा कम चालु आर्थिक वर्षमा दर्ता भएको छ । ‘यो वर्षमा ४ वटा केस जबर्जस्ती करणी उद्योग घटना दर्ता भएको छ’ प्रहरी निरीक्षक तिमिल्सिनाले भने ।