अब सर्वसाधारणलाई सूचना खोज्न सजिलो हुने प्रविधिमन्त्री शर्माकाे भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५० दिन अगाडि
अब सर्वसाधारणलाई सूचना खोज्न सजिलो हुने  प्रविधिमन्त्री शर्माकाे भनाइ

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै सरकारी निकायका आ–आफ्नै वेबसाइटहरू हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरू पाउन सकिने अवस्था आएको बताएकी छन् ।

उनले यसबाट धेरै खर्च कटौती हुने तथा साइबर सुरक्षाको दृष्टिले पनि सुरक्षित हुने बताएकी हुन् ।

सरकारी निकायहरूको वेबसाइटहरुबीच एकरूपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ । मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा एक औपचारिक कार्यक्रमका बीच सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ गरेकी हुन् । यस प्रणाली अन्तर्गत सूचना तथा प्रशारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइटहरू सञ्चालनमा आउने भएको छ । 

सूचना प्रविधि विभागले निकायगत वेबसाइट व्यवस्थापन गर्नका लागि सरकारी निकायलाई प्रणाली व्यवस्थापक उपलब्ध गराउने र सोही प्रयोगकर्तामार्फत सम्बन्धित निकायले आफ्नो वेबसाइटमा मेनु र उपमेनुहरू थपघट गर्न, नारा तथा लोगो राख्न, ग्यालरी, भिडियो र ब्यानर व्यवस्थापन गर्न सकिने जनाइएको छ । त्यस्तै कर्मचारीको विवरण, संगठन संरचना लगायतका कामहरू पनि गर्न सकिने बताइएको छ । त्यस्तै सबै सरकारी निकायहरूको निगरानी गरी ह्याक हुनसक्ने जोखिम कम गर्न सो को तत्काल जानकारी गराउन वेब मोनिटरिङ प्रणाली समेत सञ्चालनमा ल्याइएको जानकारी गराइएको छ ।