कोशी प्रदेशको एमाले र काँग्रेसको प्रस्ताव दर्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
कोशी प्रदेशको एमाले र काँग्रेसको प्रस्ताव दर्ता

काठमाडौँ - प्रदेश १ को नाम कोशी प्रदेश प्रस्ताव गर्दै नेपाली काग्रेस र नेकपा एमालेले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । 

प्रदेशसभा सचिवालयले प्रस्ताव दर्ताका लागि दिएको १२ बजेदेखि १ बजेसम्मको समयमा एमालेको प्रस्ताव र काँग्रेसको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो । उक्त प्रस्तावको प्रस्तावक एमालेका रामबहादुर मगर रहेका छन् भने समर्थकमा काँग्रेसका भूमिप्रसाद राजवंशी रहेका छन् ।

‘प्रदेशले आफ्नो नामाकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्नै दायित्व पुरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाती, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपर्युक्त ठानिएको छ,’ प्रस्तावमा भनिएको छ ।

आजको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश भई निर्णय गर्ने कार्यसूची तय भएको छ । यद्यपि ११ बजेका लागि तय गरिएको बैठक दलहरुबीचको छलफल र सहमतिको प्रयासले केही समय पछि धकेलिएको छ ।