पिएसजीका डिफेन्डरलाई बलात्कार आरोप

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६० दिन अगाडि
पिएसजीका डिफेन्डरलाई बलात्कार आरोप

काठमाडौं-  मोरक्को तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजी का डिफेन्डर अचरफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ ।

हाकिमीलाई लागेको बलात्कार आरोपबारे प्रारम्भिक अनुसन्धान सुरु भएको छ । २४ वर्षीया महिलाले पिएसजीका सेन्टर ब्याकले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । ती महिलाले आइतबारै प्रहरी चौकीमा घटनाबारे जानकारी गराएपनि आरोप दर्ता नगरेको बुझिएको छ ।

मोरक्को गत नोभेम्वर र डिसेम्वरमा भएको फिफा विश्वकप कतार २०२२ मा इतिहास रच्दै सेमिफाइनलमा पुग्दा हाकिमी टोलीका महत्वपूर्ण सदस्य थिए । मोरक्को विश्वकप सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम समेत बनेको थियो ।

त्यही प्रदर्शनले उनी वर्ष २०२२ को उत्कृष्ट टोली फिफप्रो ११ मा पर्न सफल भएका थिए । २४ वर्षीया हाकिमी पिएसजीका सहयात्री तथा वर्षको उत्कृष्ट पुरुष खेलाडी बनेका लियोनेल मेस्सी र केलियन एमबाप्पेसँगै अवार्ड लिन पुगेका थिए ।

हाकिमी र पिएसजी दुवैले सार्वजनिक रूपमा उक्त आरोपको कुनै प्रतिक्रिया दिएका छैनन् । हाकिमीका वकिलले भने बलात्कारको आरोपलाई अस्वीकार गरेका छन् ।