नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन संशोधन गर्न माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३६ दिन अगाडि
नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन संशोधन गर्न माग

काठमाडौँ - नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सार्वजनिक खरिद ऐन संशोधन गर्न माग गरेका छन् ।

महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले खरिद ऐन संशोधनको समयमा निर्माण व्यवसायी लगायतका सरोकारवालासँग छलफल गरिने प्रतिबद्धता जनाएका हुन् । 

प्रधानमन्त्रीसमक्ष महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगको पछिल्लो समस्या र समाधानको उपायका बारेमा अवगत गराएको थियो । महासंघ अध्यक्ष सिंहले निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गर्दै सरकारसँगको सहकार्यका लागि महासंघ सधैँ तयार रहेको प्रतिबद्धता जनाए । 

बजेट सुनिश्चित नगरी आयोजनाहरू घोषणा गरिएका कारण व्यवसायीहरूले ठुलो रकम भुक्तानी नपाउँदा निर्माण उद्योग असहज अवस्थामा रहेको अध्यक्ष सिंहले बताए । बिना बजेटका नयाँ योजना घोषणा गर्नुभन्दा चालु अवस्थामा रहेको आयोजना सम्पन्न गर्ने कामलाई राज्यले प्राथमिकता दिनुपर्ने अध्यक्ष सिंहको भनाइ थियो । आयोजनाहरू समयमै सम्पन्न नहुनुमा धेरै पक्ष जिम्मेवार हुँदा हुँदै एकोहोरो निर्माण व्यवसायीलाई मात्र दोषी देखाइएकोप्रति अध्यक्ष सिंहले सरकारको ध्यानाकर्षण गराए । जवाफमा प्रधानमन्त्री प्रचण्डले महासंघका सुझावहरूलाई आफूलाई महत्त्वका साथ लिने बताएका थिए । 

सोही अवसरमा अध्यक्ष सिंहले यही फागुन २८ गते राजधानीमा हुने महासंघको २४ औँ साधारण सभाको प्रमुख आतिथ्य ग्रहण गरिदिन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा पत्र हस्तान्तरण गरे ।