बंगलादेशी सरकारका प्रतिनिधि र मधेसी आयोगका अध्यक्षबीच भेटवार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३५ दिन अगाडि
बंगलादेशी सरकारका प्रतिनिधि  र मधेसी आयोगका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ - नेपाल भ्रमणमा रहेका बंगलादेश सरकारका प्रतिनिधिहरू, बंगलादेश मानवअधिकार आयोगका पदाधिकारी तथा मानवअधिकारकर्मी सम्मिलित एक उच्चस्तरीय टोलीले मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सहित आयोगका पदाधिकारीहरूसँग भेट गरेका छन् |

बिहीबार मधेसी आयोगको कार्यालयमा भएको सो भेटमा बंगलादेशी टोलीले मधेसको सिराहा र सप्तरी जिल्लामा बंगलादेश सरकारको सहयोगमा विभिन्न समाज कल्याण सम्बन्धित आयोजनाहरू सञ्चालनमा रहेको जानकारी गराउँदै सो आयोजनामा आयोगको तर्फ बाट सहयोग गर्न अध्यक्ष डा.दत्तलाई अनुरोध गरेका छन् | सो भेटघाटमा दुवै देशमा मानवअधिकारको अवस्था तथा चुनौतीको विषयमा समेत छलफल भएको छ |

आयोगका अध्यक्ष डा.दत्तले तराई-मधेस सहित नेपालका हजारौँ विद्यार्थीहरू बंगलादेशमा अध्ययनरत रहेको र उनीहरूको मानवअधिकारको संरक्षण तथा संवर्द्धन गर्नु त्यहाँको सरकारको समेत दायित्व रहेको बताउँदै विद्यार्थीहरू माथि आउने विभिन्न किसिमका समस्याहरूको निदानार्थ बंगलादेश सरकारले आवश्यक रणनीति बनाउनु पर्ने कुरामा जोड दिएका छन् |  

सो छलफलमा अध्यक्ष डा.दत्तले नेपाल र बंगलादेश एक अर्काको हितैषी मित्र रहेको र आगामी दिनमा विभिन्न क्षेत्रहरूमा दुवै देशले एक अर्कासँग समन्वय तथा सहकार्य गरी अगाडी बढ्नुपर्ने कुरा समेत बताएका छन् |