काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय कोशेढुङ्गा भएको बताएका छन् ।
शहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले भने, ‘फागुन १ लाई राष्ट्रिय दिवसका रुपमा मनाउने औपचारिक र वैधानिक घोषणा भयो । जनयुद्ध दिवस बनाउने अर्को कोशेढुङ्गा हो ।’ आफू नेतृत्वको सरकारले जगडोलमा शहीद पार्क बनाउने तथा शहीदरुको नाम राजपत्रमा समावेश गर्ने निर्णयलाई उनले ठूलो परिघटना भने ।
‘माओवादी आन्दोलन प्रभाव कमजोर भएर होइन । माओवादीका सबै धारहरु एकठाउँ हुँदा जबरजस्त बल छ भनेर नै प्रतिक्रियावादीहरुले भ्रम छर्ने र घेरा हाल्ने षडयन्त्र गरिरहेका छन्,’ प्रचण्डले भने, ‘माओवादी धार सबै एक ठाउँमा भएर लाखौं जनता उतार्ने हो भने माओवादीले फेरि विजयको यात्रा सुरु गर्नसक्छ ।’ प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको भन्दै पूर्व माओवादीहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।